कृषि उपजको दैनिक मूल्यबारे कृषक, उपभोक्ता, व्यापारी तथा अन्य सरोकारवाला पक्षलाई जानकारी दिने उद्देश्यले आ.व. २०७५/७६ सालबाट संघ अन्तरगत रहेका ११ वटा कृषि उपज थोक बजारमा खरिद-बिक्री हुने कृषि उपजको दैनिक मूल्यको सूचना प्रवाह गर्ने हेतुले Agriculture Market Information System (AMIS) को निर्माण गरिएको थियो। आ.व. २०७५/७६ मा शुरु गरिएको AMIS Software लाई थप परिस्कृत र अद्यावद्यिक गर्दै आ.व. २०७९/८० देखि Agriculture Market Price Information System (AMPIS) मार्फत कृषि उपजको दैनिक मूल्यको संकलन तथा व्यवस्थापन कार्य हुँदै आएको छ। साथै आ.व. २०८३/८४ बाट कालिमाटि फलफूल तथा तरकारी बजारको मूल्य सूचना प्रणालीलाई पनि AMPIS मा आबद्ध गरिएको छ। यस प्रणालीमा कृषि उपजको स्रोत¸ उत्पादन क्षेत्र¸ जात¸ आकार र रंग आधारमा जम्मा १७० वटा कृषि उपजहरुको दैनिक थोक मूल्य प्रविष्टी हुने गरेको छ।
यस प्रणालीको प्रयोगले बजारमा दैनिक र आवधिक रुपमा कृषि उपजको प्रवृति पहिचान, उपजको मूल्य प्रवृत्ति पहिचान, बजार मूल्य स्थिरीकरण नीति निर्माण तथा किसान र उपभोक्ताको हितमा निर्णय लिन महत्वपूर्ण भूमिका खेल्दछ। दैनिक मूल्य तथ्याङ्कले बजारको वास्तविक अवस्था प्रतिबिम्बित गर्ने भएकाले कृषि क्षेत्रको विकास तथा बजार व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँछ।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमले सार्वजनिक सेवामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य अनुरूप कृषि क्षेत्रसँग सम्बन्धित सूचना तथा सेवाहरू कृषकको हात-हातमा पुर्याउने उद्देश्यले कृषि बजार सूचना प्रणालीलाई थप सुदृढ बनाई किसानदेखि नीति निर्मातासम्मका सबै सरोकारवालालाई समयमै सटीक सूचना उपलब्ध गराउन आ.व. २०८३/८४ मा AMPIS Based Web Portal निर्माण गर्ने लक्ष्य लिएको छ।