आ.व. २०८०/८१ बाट AMPIS मा दैनिक रुपमा ११ वटा कृषि बजारहरूले विभिन्न कृषि उपजहरुको दैनिक मूल्य संकलन¸ व्यवस्थापन तथा प्रकाशन गरिँदै आएको छ। देशभर रहेका कुल ११ वटा बजार केन्द्रहरूले विभिन्न व्यापारी र कृषकहरूबाट प्रत्येक कृषि उपजको दैनिक रुपमा संकलन हुने ५ वटा मूल्यका आधारमा न्यूनतम र अधिकतम मूल्य तय गरी AMPIS Software मा प्रविष्टि गरी हालसम्म प्रत्येक कृषि उपजको न्यूनतम मूल्य (Minimum Price) र अधिकतम मूल्य (Maximum Price) मात्र प्रयोग गरी यी दुई मूल्यको मध्यबिन्दु (Mid Price) लाई प्रतिनिधि मूल्यका रूपमा प्रयोग गरिँदै आएको छ।

मध्यबिन्दु मूल्य निम्न सूत्रबाट गणना गरिन्छः

मध्यबिन्दु मूल्य = (न्यूनतम मूल्य + अधिकतम मूल्य) ÷ २

Data Entry Format मा संकलित सबै मूल्य नसमेटिएको कारण लामो समयदेखि यही विधि प्रयोग गरेर कृषि उपजको दैनिक थोक मूल्य गणना गरिँदै आएको छ।

२०८३ असार १ गते देखि कालिमाटी फलफूल तथा तरकारी बजार पनि AMPIS मा समावेश भएको छ। कालिमाटी बजारमा भने एकै दिनमा विभिन्न व्यापारी तथा कारोबार बिन्दुबाट प्राप्त हुने धेरै मूल्य अवलोकनहरूको आधारमा अंकगणितीय औसत मूल्य (Arithmetic Mean Price) प्रयोग गरी औषत थोक मूल्य गणना गरिन्छ। यो औसत मूल्य निम्न सूत्रबाट प्राप्त हुन्छः

औसत मूल्य = सबै अवलोकित मूल्यहरूको योगफल ÷ अवलोकनहरूको संख्या

मध्यबिन्दु मूल्य र अंकगणितीय औसत मूल्य गणना गर्ने विधि फरक भएकाले यी दुई सूचकहरू प्रत्यक्ष रूपमा एकअर्कासँग पूर्ण रूपमा तुलना योग्य हुँदैनन्।

तसर्थ प्रयोगकर्ताहरूले मूल्यको व्याख्या गर्दा प्रकाशित मूल्य मध्यबिन्दु मूल्य हो वा अंकगणितीय औसत मूल्य हो भन्ने विषयलाई ध्यानमा राख्नुपर्नेछ। विभिन्न पद्धतिबाट गणना गरिएका मूल्यहरूलाई एउटै सूचक मानेर प्रत्यक्ष तुलना गर्दा निष्कर्षमा भिन्नता आउन सक्ने भएकाले तथ्याङ्क प्रयोग गर्दा सावधानी अपनाउन आवश्यक छ।

भविष्यमा सबै बजारहरूबाट संकलित बहु-अवलोकन (Multiple Price Observations) मूल्यलाई समावेश गरी अंकगणितीय औसत मूल्यलाई तुलनात्मक सूचकको रुपमा क्रमशः रूपान्तरण गर्दै जानेछौं।